ड्राइभर पार्टनरको सुरक्षा र सीप विकासमा इनड्राइभको नयाँ पहल, सुरु भयो अनलाइन तालिम
काठमाडौं, १८ असार । राइड–हेलिङ तथा डेलिभरी प्लेटफर्म इनड्राइभ नेपालले ड्राइभर पार्टनरहरूको सुरक्षा, सीप र व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ सार्वजनिक गरेको छ । मोबाइलमार्फत सहज रूपमा अध्ययन गर्न सकिने यो तालिम कार्यक्रमले चालकहरूलाई सुरक्षित ड्राइभिङ, जोखिम व्यवस्थापन तथा आपत्कालीन अवस्थाको सामना गर्ने व्यावहारिक ज्ञान प्रदान गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार कोर्स हाल सञ्चालनमा आइसकेको छ र धेरै चालकहरूले यसलाई पूरा गरिसकेका छन् । अब यो कार्यक्रम नेपालभर रहेका १ लाखभन्दा बढी इनड्राइभ चालकसम्म पुर्याउने लक्ष्य राखिएको छ ।
चालकहरूको व्यस्ततालाई ध्यानमा राख्दै करिब २० मिनेटमै पूरा गर्न सकिने गरी तयार गरिएको यो कोर्स छोटो, व्यावहारिक र सहज पहुँचयोग्य बनाइएको कम्पनीको भनाइ छ ।
कोर्सलाई तीनवटा मुख्य मोड्युलमा विभाजन गरिएको छ । पहिलो मोड्युलमा प्लेटफर्मभित्र यात्रुसँग सुरक्षित, सम्मानजनक र व्यावसायिक व्यवहार कायम राख्ने विषय समेटिएको छ । दोस्रो मोड्युलमा राइड–हेलिङ सेवाका क्रममा अपनाउनुपर्ने रक्षात्मक ड्राइभिङ, ट्राफिक बढी हुने क्षेत्र र अपरिचित स्थानमा अपनाउनुपर्ने सावधानीलगायत सडक सुरक्षाका आधारभूत विषय समावेश छन् । तेस्रो मोड्युलमा आपत्कालीन अवस्थामा अपनाउनुपर्ने प्रक्रिया, इनड्राइभ एपभित्र उपलब्ध एसओएस (SOS) सुविधा तथा घटना रिपोर्टिङ प्रणालीबारे जानकारी दिइन्छ ।
प्रत्येक मोड्युलमा पाँच मिनेटको शैक्षिक भिडियो र पाँचवटा मूल्याङ्कन प्रश्न राखिएको छ । कोर्स सफलतापूर्वक पूरा गरी प्रमाणपत्र प्राप्त गर्न चालकहरूले सबै मोड्युलमा कम्तीमा ८० प्रतिशत सही उत्तर दिनुपर्ने व्यवस्था गरिएको छ । पहिलो प्रयासमा सफल नभए पनि पुनः क्विज दिन सकिने सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
इनड्राइभका अनुसार चालक र यात्रुको सुरक्षा कम्पनीको प्राथमिकतामध्ये एक हो । यही उद्देश्यअनुसार चालकहरूलाई व्यवहारिक तथा प्रमाणमा आधारित सुरक्षा तालिम उपलब्ध गराउने पहलस्वरूप यो अनलाइन कोर्स सञ्चालनमा ल्याइएको हो ।
इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन स्पेशलिस्ट सुनिता जीमी राईले चालकहरूलाई एप प्रयोग गर्दा मात्र नभई सडकमा आउने हरेक परिस्थितिमा आत्मविश्वासका साथ अघि बढ्न आवश्यक ज्ञान र सहयोग उपलब्ध गराउने उद्देश्यले यो कोर्स तयार गरिएको बताइन् । उनका अनुसार यो पहल नियम पालना मात्र नभई चालक र यात्रु दुवैको सुरक्षालाई थप प्रभावकारी बनाउने व्यावहारिक माध्यम पनि हो ।
कम्पनीले यो कार्यक्रमले चालकहरूको व्यक्तिगत सुरक्षा सचेतना, जोखिम व्यवस्थापन क्षमता र कठिन परिस्थितिमा निर्णय गर्ने आत्मविश्वास बढाउने विश्वास व्यक्त गरेको छ । साथै यसबाट चालक, यात्रु र समग्र समुदायले सुरक्षित यात्रा अनुभव गर्न सक्ने अपेक्षा गरिएको छ ।