Newad1
Featured blog image

१३ सय किलोमिटरसम्म चल्ने ह्वावेको लक्जरी एमपीभी सार्वजनिक

काठमाडौं । लक्जरी यात्रामा आराम, निजीपन र प्रविधि खोज्ने ग्राहकका लागि चीनमा नयाँ प्रतिस्पर्धा सुरु भएको छ । ठूला होटल, विमान सेवा कम्पनी, उच्चस्तरीय व्यवसायिक संस्था र विशेष पाहुनाको यात्रालाई लक्षित गर्दै दुई नयाँ प्रिमियम एमपीभी बजारमा आएका हुन् ।

ह्वावे र चिनियाँ अटोमोबाइल कम्पनी जेएसीको सहकार्यमा बनेको माएक्स्ट्रो ब्रान्डले भी६८० र भी८०० सार्वजनिक गरेको हो । यी दुवै मोडललाई टोयोटा अल्फार्ड र लेक्सस एलएमजस्ता जापानी लक्जरी एमपीभीको प्रत्यक्ष प्रतिस्पर्धीका रूपमा हेरिएको छ ।

भी६८० को मूल्य ६ लाख ४८ हजार युआनबाट सुरु हुन्छ भने बढी प्रिमियम भी८०० को मूल्य ७ लाख ६६ हजारदेखि १० लाख १६ हजार युआनसम्म तोकिएको छ । सार्वजनिक भएको एक घण्टामै यी दुई गाडीका २ हजार ११५ पक्का अर्डर आएको कम्पनी पक्षले जनाएको छ ।

भी८०० को लम्बाइ ५ हजार ४९५ मिलिमिटर र ह्विलबेस ३ हजार ४३० मिलिमिटर छ । भी६८० केही सानो भए पनि यसको लम्बाइ ५ हजार ३२० मिलिमिटर र ह्विलबेस ३ हजार २९० मिलिमिटर रहेको छ । दुवैमा सात सिटको व्यवस्था गरिएको छ ।


यी गाडीमा १ दशमलव ५ लिटर टर्बो पेट्रोल इन्जिनलाई रेन्ज एक्सटेन्डरका रूपमा प्रयोग गरिएको छ । अगाडि र पछाडि रहेका विद्युतीय मोटरबाट चारपांग्रे शक्ति उपलब्ध हुन्छ । ६५ किलोवाट आवर ब्याट्री र छ गुणा छिटो चार्जिङ क्षमतासहित आएको गाडीले ब्याट्रीबाट मात्रै ३४० किलोमिटर चल्ने दाबी गरिएको छ ।

पूरै ब्याट्री र इन्धन ट्यांकी भरिँदा भी८०० ले १ हजार ३३५ किलोमिटर तथा भी६८० ले १ हजार २०८ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ । लामो दूरीमा चार्जिङको चिन्ता घटाउन खोज्ने व्यवसायिक ग्राहकका लागि यो पक्ष महत्वपूर्ण हुन सक्छ ।


दुवै मोडलमा ह्वावेको छियानखुन एडीएस ५ चालक सहायक प्रणाली र ४० वटा सेन्सर छन् । तीमध्ये ६ वटा लाइडार पनि समावेश छन् । भी८०० लाई भविष्यको लेभल ३ स्वचालित ड्राइभिङका लागि तयार पारिएको प्लेटफर्ममा बनाइएको कम्पनीले जनाएको छ ।

भी८०० मा पछाडिका पांग्रा पनि मोडिने प्रविधि, क्र्याब मोड, ४१ दशमलव ६ इन्च प्रोजेक्सन स्क्रिन, तारा झल्किने छत र २० बिन्दुमा मसाज दिने दोस्रो पंक्तिका सिट छन् । भी६८० मा जिरो ग्राभिटी सिट र छतमा राखिएको २१ दशमलव ४ इन्च डिस्प्ले उपलब्ध छ ।


नेपालमा यस्ता अत्यन्त महँगा लक्जरी एमपीभीको बजार सानो भए पनि होटल, पर्यटन, कर्पोरेट पाहुना र विशेष भाडा सेवामा प्रिमियम यात्राको माग बढ्दो छ । त्यसैले चीनमा विकसित यस्ता मोडलले भविष्यमा नेपाली बजारका आयातकर्ता र लक्जरी सवारी प्रयोगकर्ताको ध्यान तान्न सक्छन् ।

भी८०० को डेलिभरी सेप्टेम्बरको सुरुआतबाट र भी६८० सहित बाँकी संस्करणको डेलिभरी सेप्टेम्बर अन्त्यबाट सुरु गर्ने तयारी छ ।


footer