अटो व्यवसायीको बीमा दाबी र भन्सार प्रक्रियामा नाडाले सहजीकरण गर्ने
काठमाडौं । भोटेकोसीमा आएको बाढी तथा डुबानबाट प्रभावित अटोमोबाइल व्यवसायीलाई बीमा दाबी, भन्सार प्रक्रिया र बैंक ऋणसम्बन्धी सहजीकरण गर्न नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले क्षतिको प्रमाणित विवरण मागेको छ । प्राप्त विवरणका आधारमा सरकारसहित सम्बन्धित निकायसँग राहत र नीतिगत सम्बोधनका लागि पहल गर्ने नाडाले जनाएको छ ।
बाढीका कारण भन्सार नाकालगायत विभिन्न स्थानमा रहेका आयातित सवारीसाधन क्षतिग्रस्त वा हराएको तथा व्यवसायीका गोदाम, कार्यालय, उपकरण र अन्य सम्पत्तिमा समेत क्षति पुगेको जानकारी आएको नाडाको भनाइ छ । प्रभावित सदस्य कम्पनीलाई सवारीसाधनको संख्या, प्रकार, पहिचान विवरण, रहेको स्थान र सम्बन्धित भन्सार नाकासहित यथार्थ विवरण सचिवालयमा पठाउन भनिएको छ ।
नाडाले गोदाम, कार्यालय र अन्य भौतिक संरचनामा भएको क्षति, बीमा गरिएको सम्पत्ति तथा सवारीसाधन, बीमा दाबीका लागि आवश्यक कागजात, बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण र अन्य प्रत्यक्ष व्यावसायिक क्षतिको विवरण पनि मागेको छ । हराएका वा सम्पर्कविहीन सवारीसाधनको छुट्टै जानकारी उपलब्ध गराउनुपर्नेछ ।
संकलित विवरणका आधारमा बीमा दाबी प्रक्रिया छिटो र सहज बनाउन बीमा कम्पनीसँग तथा भन्सार नाकामा हराएका वा क्षतिग्रस्त सवारीसाधनको पहिचान र आवश्यक प्रक्रियाका लागि सम्बन्धित भन्सार कार्यालयसँग समन्वय गरिने नाडाले जनाएको छ ।
प्रभावित व्यवसायीको ऋण पुनर्संरचना, भुक्तानी अवधि पुनरावलोकन वा अन्य सम्भावित सहजीकरणका लागि बैंक तथा वित्तीय संस्था र सम्बन्धित निकायसँग पहल गर्ने योजना पनि नाडाको छ । आवश्यकताअनुसार समन्वय तथा सहजीकरण समिति गठन गरी सदस्यका समस्या सम्बन्धित निकायसम्म पुर्याइने अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।