भारतमा लन्च हुनासाथ निसान टेकटनलाई ५-स्टार सेफ्टी रेटिङ
काठमाडौं । भारतमा हालै सार्वजनिक भएको निसानको नयाँ मिड–साइज एसयूभी टेकटन (Tekton) ले Bharat NCAP बाट पूर्ण ५-स्टार सुरक्षा रेटिङ प्राप्त गरेको छ । भारतीय बजारमा अत्यन्त प्रतिस्पर्धी मानिने मिड–साइज एसयूभी सेग्मेन्टमा प्रवेश गरेको टेकटनले सुरुमै उच्च सुरक्षा प्रमाणपत्र पाएपछि यसको बजार प्रतिस्पर्धा थप रोचक बन्ने अपेक्षा गरिएको छ ।
Bharat NCAP का अनुसार टेकटनले एडल्ट अकुपेन्ट प्रोटेक्सन (AOP) तर्फ ३२ मध्ये ३०.४९ अंक तथा चाइल्ड अकुपेन्ट प्रोटेक्सन (COP) तर्फ ४९ मध्ये ४५ अंक प्राप्त गर्दै पूर्ण ५-स्टार रेटिङ हासिल गरेको हो । यो रेटिङ टेकटनका सम्पूर्ण भेरियन्टमा लागू हुने जनाइएको छ ।
रोचक पक्ष के छ भने, टेकटनलाई छुट्टै क्र्यास परीक्षण गरिएको होइन । Bharat NCAP ले यसलाई रेनो डस्टरको 'कर्पोरेट ट्विन' को रूपमा मान्यता दिएको छ । दुवै एसयूभी एउटै प्लेटफर्म, समान मोनोकोक बडी स्ट्रक्चर र समान सुरक्षा उपकरणमा आधारित भएकाले यसअघि परीक्षण गरिएको डस्टरको नतिजालाई टेकटनमा पनि लागू गरिएको हो ।
निसानका अनुसार टेकटनमा ६ वटा एयरब्याग, ४० भन्दा बढी स्ट्यान्डर्ड सुरक्षा फिचर, ६२ प्रतिशत हाई–स्ट्रेन्थ स्टिल प्रयोग गरिएको मोनोकोक बडी स्ट्रक्चर, साथै उच्च भेरियन्टमा १७ भन्दा बढी एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (ADAS) फिचर उपलब्ध छन् । यसले फ्रन्टल तथा साइड इम्प्याक्टजस्ता दुर्घटनामा यात्रुको सुरक्षालाई उच्च प्राथमिकता दिएको कम्पनीको दाबी छ ।
भारतीय बजारमा टेकटनले हुन्डाई क्रेटा, किया सेल्टोस, मारुति सुजुकी ग्रान्ड भिटारा, टोयोटा अर्बन क्रुजर हाइराइडर, स्कोडा कायलाक र फक्सवागन टाइगुन जस्ता स्थापित प्रतिस्पर्धीसँग सीधा प्रतिस्पर्धा गर्नेछ । यस्तो अवस्थामा सुरुमै प्राप्त भएको ५-स्टार सुरक्षा रेटिङ निसानका लागि ठूलो मार्केटिङ बल बन्न सक्ने विश्लेषण गरिएको छ ।
निसानले टेकटनलाई भारतमा १०.४९ लाख रुपैयाँ (एक्स–शोरुम) प्रारम्भिक मूल्यमा सार्वजनिक गरिसकेको छ । कम्पनीले यो मोडललाई भारतमा आफ्नो पुनरागमन रणनीतिको महत्वपूर्ण उत्पादनका रूपमा प्रस्तुत गरेको छ। उता नेपालमा निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्प ले केही समयअघि सामाजिक सञ्जालमार्फत टेकटनको झलक सार्वजनिक गरिसकेको छ । त्यसैले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा टेकटन नेपाली बजारमा समेत सार्वजनिक हुने सम्भावना बलियो देखिएको छ, यद्यपि कम्पनीले अहिलेसम्म औपचारिक घोषणा गरेको छैन ।