निसानको नयाँ 'किक्स' ई-पावर AWD प्रविधिका साथ जापानमा सार्वजनिक

निसानले आफ्नो प्रख्यात कम्प्याक्ट SUV, 'अल-न्यु किक्स' लाई नवीनतम हाइब्रिड प्रविधि र अल-ह्विल ड्राइभ क्षमताका साथ जापानी बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ । जुन १८ देखि बिक्री सुरु भएको यस गाडीको प्रारम्भिक मूल्य करिब ३० लाख जापानी येन (अनुमानित १८,९०० अमेरिकी डलर) कायम गरिएको छ ।

नयाँ निसान किक्सको मुख्य आकर्षण यसमा प्रयोग गरिएको तेस्रो पुस्ताको e-POWER प्रणाली हो, जसले जापानी बजारमा पहिलो पटक डेब्यु गरेको छ । यस प्रणालीमा नयाँ 5-in-1 इन्टिग्रेटेड युनिट जडान गरिएको छ; जसले मोटर, इन्भर्टर, जेनेरेटर र अन्य सम्बन्धित पार्टपुर्जाहरूलाई एउटै हलुका र कम्प्याक्ट मोड्युलमा समेटेको छ ।

यस गाडीमा १.४ लिटरको पेट्रोल इन्जिन रहेको छ, जसले सवारी साधनलाई सिधै गुडाउने नभई केवल पावर जेनेरेटर (बिजुली उत्पादन गर्ने माध्यम) को रूपमा काम गर्दछ । यसले गर्दा गाडीले उत्कृष्ट माइलेज दिनुका साथै यसको सञ्चालन निकै शान्त हुन्छ ।

निसानले किक्स सिरिजमा पहिलो पटक आफ्नो अत्याधुनिक इलेक्ट्रिक अल-ह्विल कन्ट्रोल सिस्टम समावेश गरेको छ । यस प्रविधिले सडकको जुनसुकै कठिन परिस्थिति वा मौसममा पनि गाडीको सन्तुलन मजबुत राख्न मद्दत पुर्‍याउँछ ।

गाडीको बाहिरी बनावट अमेरिकी फुटबल हेल्मेटको स्वरूपबाट प्रेरित छ, जुन यसको बोल्ड फ्रन्ट ग्रिल र आकर्षक लाइटिङ सिग्नेचरमा प्रस्ट देखिन्छ ।

त्यस्तै, गाडीको भित्री भाग लाई पनि निकै आधुनिक र प्रविधिमैत्री बनाइएको छ । यसमा दुईवटा १२.३ इन्चका डिजिटल डिस्प्ले राखिएका छन् भने 'निसानकनेक्ट' सँगै गुगल इन्टरफेसको सुविधा पनि उपलब्ध छ ।

सुरक्षालाई उच्च प्राथमिकता दिँदै निसानले यस गाडीका सबै भेरियन्टमा ProPILOT ड्राइभिङ असिस्टेन्स सिस्टमलाई स्ट्यान्डर्ड  फिचरका रूपमा उपलब्ध गराएको छ । यसका साथै, परिमार्जित इन्टेलिजेन्ट इमर्जेन्सी ब्रेकिङ सिस्टम र उन्नत क्षमताबिकसित 'अराउन्ड भ्यु मनिटर' जस्ता आधुनिक सुरक्षा उपकरणहरू यसमा समाविष्ट छन् ।

यो गाडीले कम्प्याक्ट SUV सेगमेन्टमा नयाँ मापदण्ड कायम गर्ने अटोमोबाइल विश्लेषकहरूको अनुमान छ ।