Newad1
Featured blog image

बढ्यो रेन्ज, घट्यो चार्जिङ समय, हिरो भिडा भीएक्स–२ प्लसको नयाँ भेरियन्ट लन्च

काठमाडौं । हिरो मोटोकर्पअन्तर्गतको विद्युतीय दुईपाङ्ग्रे ब्रान्ड भिडा ले आफ्नो लोकप्रिय भीएक्स–२ प्लस स्कुटरको ४.४ किलोवाट–घण्टा ब्याट्री भएको नयाँ संस्करण भारतमा सार्वजनिक गरेको छ । नयाँ संस्करणले अघिल्लो ३.४ किलोवाट–घण्टा ब्याट्री भएको मोडलभन्दा उल्लेखनीय रूपमा बढी दूरी तय गर्न सक्ने कम्पनीको दाबी छ भने मोटर तथा अन्य प्रमुख विशेषताहरू भने यथावत् राखिएको छ ।

नयाँ भिडा भीएक्स–२ प्लस को एक्स–शोरुम मूल्य १ लाख ४४ हजार भारतीय रुपैयाँ निर्धारण गरिएको छ। यसमा २.२ किलोवाट–घण्टा क्षमताका दुईवटा निकाल्न मिल्ने ब्याट्री प्रयोग गरिएको छ, जसको कुल क्षमता ४.४ किलोवाट–घण्टा पुग्छ । कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्जमा १८७ किलोमिटरसम्म यात्रा गर्न सक्छ । यसअघि उपलब्ध ३.४ किलोवाट–घण्टा संस्करणको दाबी गरिएको दूरी १४६ किलोमिटर थियो ।

यस स्कुटरसँगै कम्पनीले १ किलोवाट क्षमताको नयाँ पोर्टेबल चार्जर पनि उपलब्ध गराएको छ । यसबाट ब्याट्री ० देखि ८० प्रतिशतसम्म ३ घण्टा १७ मिनेट र पूर्ण चार्ज हुन ५ घण्टा ८ मिनेट लाग्ने कम्पनीले जनाएको छ । द्रुत चार्जर प्रयोग गर्दा भने ० देखि ८० प्रतिशत चार्ज केवल ६५ मिनेटमै गर्न सकिने दाबी गरिएको छ । कम्पनीका अनुसार भारतभर अहिले ६ हजारभन्दा बढी द्रुत चार्जिङ केन्द्र सञ्चालनमा छन् ।

स्कुटरमा अघिल्लोकै ६ किलोवाट क्षमताको मोटर प्रयोग गरिएको छ, जसले २६ न्युटन–मिटर टर्क उत्पादन गर्छ । यसको अधिकतम गति ९० किलोमिटर प्रतिघण्टा रहेको छ। यसमा इको, राइड र स्पोर्ट गरी तीनवटा सञ्चालन मोडका साथै छोटो समय अतिरिक्त शक्ति उपलब्ध गराउने बुस्ट सुविधा पनि दिइएको छ ।

अन्य सुविधामा ४.३ इन्चको टीएफटी डिस्प्ले, मोबाइल फोनसँग जडान हुने सुविधा तथा मार्ग निर्देशन प्रणाली समावेश गरिएको छ। कम्पनीका अनुसार नयाँ भिडा भीएक्स–२ प्लस जुलाई २०२६ को अन्त्यसम्म भारतभरका आधिकारिक विक्रेतामार्फत बिक्रीमा आउनेछ ।

यसैबीच, कम्पनीले यही स्कुटर प्रयोग गरेर ५२ दिनमा १२ हजार १११ किलोमिटर यात्रा पूरा गर्दै विद्युतीय स्कुटरबाट गरिएको सबैभन्दा लामो यात्राको एसिया बुक अफ रेकर्ड्स मा नाम दर्ता गराएको दाबी पनि गरेको छ ।




footer