बिक्री घटेपछि फोक्सवागेनको ठूलो निर्णय, ५० प्रतिशत मोडल बन्द हुँदै
काठमाडौं । विश्वका अग्रणी अटोमोबाइल निर्माता फोक्सवागेन समूहले घट्दो बिक्रीपछि आफ्नो व्यवसाय पुनर्संरचना गर्ने योजना सार्वजनिक गरेको छ । कम्पनीले आगामी दिनमा आफ्नो मोडल लाइनअप ५० प्रतिशतसम्म घटाउने र वार्षिक उत्पादन क्षमता पनि कम गर्ने तयारी गरेको हो ।
सन् २०२६ को दोस्रो त्रैमासिकमा फोक्सवागेन समूहको विश्वव्यापी बिक्री ८.६ प्रतिशतले घटेको छ । सबैभन्दा ठूलो असर चीनमा परेको छ, जहाँ अप्रिलदेखि जुनसम्म बिक्री ३६.६ प्रतिशतले घटेको छ भने वर्षको पहिलो छ महिनामा २५.९ प्रतिशतको गिरावट आएको कम्पनीले जनाएको छ ।
कम्पनीका बिक्री विभागका सदस्य मार्कोस शुबर्टका अनुसार चीनको अटो बजार नै करिब २० प्रतिशतले खुम्चिएको छ । स्थानीय बजारका लागि विकास गरिएका नयाँ विद्युतीय मोडल ल्याए पनि अपेक्षित सफलता हासिल हुन नसकेको उनले बताएका छन् ।
युरोप र ल्याटिन अमेरिकामा बिक्री बढे पनि चीनको गिरावटले त्यसको प्रभावलाई कमजोर बनाएको छ । उत्तर अमेरिकामा दोस्रो त्रैमासिकमा बिक्री ७.७ प्रतिशतले बढे पनि वर्षको समग्र नतिजा अझै ऋणात्मक रहेको कम्पनीले जनाएको छ ।
घट्दो बिक्रीसँगै फोक्सवागेनले अब आफ्नो मोडल संख्या ५० प्रतिशतसम्म घटाउने, उपलब्ध भेरियन्ट ७५ प्रतिशतसम्म कम गर्ने तथा वार्षिक उत्पादन क्षमता १ करोड २० लाखबाट ९० लाख युनिटमा झार्ने योजना सार्वजनिक गरेको छ । कम्पनीले अब धेरै नाफा दिने उत्पादन र प्रविधिमा मात्र लगानी केन्द्रित गर्ने रणनीति लिएको जनाएको छ ।
यसबीच जर्मन सञ्चारमाध्यमहरूले कम्पनीले चार कारखाना बन्द गर्न सक्ने र करिब एक लाख कर्मचारी कटौती गर्न सक्ने दाबी गरेका छन् । यद्यपि फोक्सवागेनले यसबारे औपचारिक पुष्टि गरेको छैन ।
फोक्सवागेनको चुनौती केवल एउटै कम्पनीको समस्या होइन । चीनमा स्थानीय विद्युतीय ब्रान्डहरूको तीव्र प्रतिस्पर्धा, बदलिँदो विश्व बजार र बढ्दो लागतले परम्परागत अटो उत्पादकहरूलाई नयाँ रणनीति अपनाउन बाध्य बनाइरहेको छ । फोक्सवागेनको यो पुनर्संरचना आगामी वर्षहरूमा विश्व अटो उद्योगकै महत्वपूर्ण उदाहरण बन्न सक्ने देखिन्छ ।