Newad1
Featured blog image

इन्डोनेसियामा बिक्री सुरु, नेपालमा कहिले देखिएला भेरियो १६० ?

काठमाडौं । म्याक्सी-स्टाइल स्कुटरप्रति युवापुस्ताको आकर्षण बढ्दै गइरहेका बेला होन्डाले इन्डोनेसियामा नयाँ भेरियो इभो १६० सार्वजनिक गरेको छ । स्पोर्टी डिजाइन, आधुनिक प्रविधि र १६० सीसी इन्जिनका कारण यो स्कुटरले सार्वजनिक भएलगत्तै ध्यान तानेको छ । भारतमा समेत यस्ता स्कुटरप्रति बढ्दो रुचिका बीच भेरियो इभो १६० को सम्भावित प्रवेशबारे चर्चा सुरु भएको छ ।

होन्डाले भेरियो इभो १६० लाई तीन भेरियन्टमा उपलब्ध गराएको छ । आधारभूत सीबीएस भेरियन्टको मूल्य आईडीआर २८,५२५,००० अर्थात् करिब नेरु १ लाख ९८ हजार रुपैयाँ बराबर रहेको छ । त्यस्तै सीबीएस नाइट्रो भेरियन्टको मूल्य करिब नेरु २ लाख रुपैयाँ तथा टप-स्पेक एबीएस भेरियन्टको मूल्य करिब नेरु २ लाख १८ हजार रुपैयाँ बराबर रहेको छ । नेपाली बजारमा आयात भएमा कर तथा अन्य शुल्कका कारण यसको मूल्य उल्लेख्य रूपमा बढ्न सक्ने अनुमान गर्न सकिन्छ ।

नयाँ भेरियो इभो १६० मा १६०सीसी ४-भल्भ , लिक्विड-कुल्ड इएसपी+ (eSP+) इन्जिन प्रयोग गरिएको छ । उक्त इन्जिनले १५ एचपी पावर र १४ एनएम टर्क उत्पादन गर्छ । यसमा अटोमेटिक भी-म्याटिक ट्रान्समिसन रहेको छ भने अधिकतम गति १०९ किलोमिटर प्रतिघण्टासम्म पुग्ने बताइएको छ ।

फिचरका हिसाबले स्कुटरमा एबीएस, कम्बी ब्रेक सिस्टम, एसीजी स्टार्टर र आइडलिङ स्टप सिस्टम जस्ता सुविधा उपलब्ध छन् । दैनिक प्रयोगसँगै लामो दूरीका यात्राका लागि पनि यसलाई उपयोगी मानिएको छ ।

यसै सेग्मेन्टमा यामाहाको एरोक्स अल्फा पनि चर्चित मोडलका रूपमा रहेको छ । एरोक्स अल्फामा १५५सीसी इन्जिन रहेको छ, जसले १५ एचपी पावर र १४.२ एनएम टर्क उत्पादन गर्छ । यसमा वाईईसीभीटी (YECVT) ट्रान्समिसन, 'टर्बो' टेक्नोलोजी, ट्र्याक्सन कन्ट्रोल सिस्टम , पूर्ण टीएफटी डिस्प्ले, गुगल म्यापस टर्न-बाइ-टर्न नेभिगेसन तथा वाई-कनेक्ट जस्ता प्रिमियम फिचरहरू उपलब्ध छन् ।

भारतमा यामाहा एरोक्स १५५ ले आफ्नो छुट्टै बजार बनाइसकेको छ भने टीभीएस लगायत अन्य कम्पनीहरू पनि नयाँ म्याक्सी-स्टाइल स्कुटर विकासमा जुटेका छन् । यसले आगामी दिनमा यो सेग्मेन्ट अझ प्रतिस्पर्धी बन्ने संकेत गरेको छ ।

नेपालमा हाल यामाहा एरोक्स १५५ जस्ता सीमित म्याक्सी-स्टाइल स्कुटरहरू मात्र उपलब्ध छन् । यस्तो अवस्थामा होन्डा भेरियो इभो १६० जस्ता मोडल नेपाली बजारमा भित्रिए भने स्कुटर पारखीहरूका लागि थप विकल्प उपलब्ध हुनेछन् ।

नेपालमा यामाहा एरोक्स १५५ ले आफ्नो छुट्टै पहिचान बनाइसकेको अवस्थामा होन्डा भेरियो इभो १६० जस्ता नयाँ म्याक्सी-स्टाइल स्कुटर आयो भने बजारले कस्तो प्रतिक्रिया देला ? के नेपाली ग्राहक यस्ता प्रिमियम स्कुटरतर्फ आकर्षित होलान् ?

footer