भदौमा हुने नाडा अटो शो २०२६ का लागि स्टल वितरण, १९ प्यासेन्जर गाडीदेखि ४५ अटो कम्पोनेन्ट कम्पनीसम्म सहभागी
काठमाडौँ, २१ असार । नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनीका रूपमा परिचित एच पि प्रेजेन्ट्स नाडा अटो शो २०२६ को तयारीले तीव्रता पाएको छ । प्रदर्शनीमा सहभागी हुने कम्पनीहरूका लागि आवश्यक स्टल निर्धारण प्रक्रिया आइतबार गोला प्रथामार्फत सम्पन्न गरिएको छ ।
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आगामी २०८३ भदौ ९ देखि १४ गतेसम्म आयोजना गर्न लागेको अटो शोका लागि केही साताअघि स्टल दर्ता प्रक्रिया खुला गरेको थियो । सोही कार्यक्रमअन्तर्गत आज नाडा सचिवालयमा आयोजित विशेष समारोहमा गोला प्रथामार्फत सहभागी कम्पनीहरूलाई स्टल बाँडफाँड गरिएको हो ।
कार्यक्रममा नाडाका अध्यक्ष, निवर्तमान अध्यक्ष, पदाधिकारी, केन्द्रीय कार्यसमितिका सदस्यहरू तथा सहभागी कम्पनीका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सबैको उपस्थितिमा पारदर्शी ढंगले सम्पन्न गरिएको गोला प्रथापछि कम्पनीहरूले प्रदर्शनीमा आफ्नो स्टल रहने स्थान आधिकारिक रूपमा प्राप्त गरेका छन् ।
यसपटकको अटो शोमा १९ वटा प्यासेन्जर भेहिकल ब्रान्ड, १० वटा दुईपाङ्ग्रे सवारीसाधन, १७ वटा लाइट कमर्शियल भेहिकल तथा ७६ वटा साना स्टल अन्तर्गत ४५ वटा अटो कम्पोनेन्ट कम्पनी लाई स्टल उपलब्ध गराइएको नाडाले जनाएको छ । यसले आगामी प्रदर्शनीमा सवारीसाधनदेखि पार्टपुर्जा, वित्तीय सेवा तथा अटोमोबाइलसँग सम्बन्धित विविध उत्पादन र सेवाको व्यापक सहभागिता रहने संकेत गरेको छ ।
नाडाका महासचिव मिलनबाबु मल्ल ले प्रदर्शनीप्रति विश्वास देखाउँदै सहभागिता जनाएकोमा सम्पूर्ण कम्पनीप्रति आभार व्यक्त गर्नुभयो । उहाँले यस वर्षको नाडा अटो शो विगतका संस्करणभन्दा अझ व्यवस्थित, आकर्षक र प्रभावकारी हुने विश्वास व्यक्त गर्दै प्रदर्शनीले नेपाली अटोमोबाइल उद्योग, व्यवसाय तथा उपभोक्ताबीच नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गर्नुभयो ।
हरेक संस्करणझैँ यसपटक पनि नाडा अटो शोमा स्वदेशी तथा अन्तर्राष्ट्रिय ब्रान्डका नयाँ सवारीसाधन, अत्याधुनिक प्रविधि, अटो कम्पोनेन्ट, वित्तीय सेवा र अटोमोबाइल क्षेत्रका नवीनतम समाधानहरू एउटै छानामुनि अवलोकन गर्न सकिने भएकाले अटोप्रेमी, व्यवसायी र सर्वसाधारणको आकर्षण केन्द्र बन्ने अपेक्षा गरिएको छ ।