Newad1
Featured blog image

सुजुकीले सार्वजनिक गर्‍यो नयाँ बर्गम्यान १५ म्याक्सी स्कुटर, १४.२ एचपी पावर र प्रिमियम फिचरसहित

काठमाडौं । सुजुकीले आफ्नो लोकप्रिय बर्गम्यान सिरिज विस्तार गर्दै नयाँ बर्गम्यान १५ म्याक्सी स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले यस स्कुटरलाई प्रतिस्पर्धात्मक १५० सीसी म्याक्सी स्कुटर सेग्मेन्टलाई लक्षित गर्दै फिलिपिन्स बजारमा बिक्री सुरु गरेको हो ।

नयाँ बर्गम्यान १५ मा १४९ सीसी लिक्विड-कुल्ड, फ्युल-इन्जेक्टेड, सिंगल-सिलिन्डर इन्जिन प्रयोग गरिएको छ । यो इन्जिनले १४.२ एचपी पावर र १४.२ एनएम टर्क उत्पादन गर्छ । दैनिक प्रयोगमा राम्रो पर्फर्मेन्ससँगै इन्धनको किफायती खपत दिने गरी इन्जिन तयार गरिएको कम्पनीले जनाएको छ । 

डिजाइनका हिसाबले बर्गम्यान १५ ले प्रिमियम लुक पाएको छ। स्कुटरको अगाडि केन्द्रमा राखिएको हाई-बिम एलईडी लाइट, दायाँ–बायाँ रहेका हेडल्याम्प, माथि एन्टलर-स्टाइल डिआरएल तथा पछाडि ठूलो एलईडी टेलल्याम्पले यसको आकर्षण बढाएको छ । पछाडिको सिट ब्र्याकेटमा टप बक्स जडान गर्न मिल्ने व्यवस्था पनि गरिएको छ ।

सस्पेन्सनतर्फ पछाडि सब-ट्याङ्कसहितको डुअल शक अब्जर्भर दिइएको छ भने अगाडि र पछाडि दुवैमा १४ इन्चका अलोय ह्विल प्रयोग गरिएको छ । ब्रेकिङका लागि अगाडि र पछाडि डिस्क ब्रेकसँगै डुअल-च्यानल एबीएस उपलब्ध छ । साथै, स्कुटरमा स्विच गर्न मिल्ने ट्र्याक्सन कन्ट्रोल सिस्टम (टीसीएस) पनि समावेश गरिएको छ ।

फिचरका हिसाबले पनि बर्गम्यान १५ निकै आधुनिक छ । यसमा फुल डिजिटल टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर, ब्लुटुथ स्मार्टफोन कनेक्टिभिटी, टायर प्रेसर मनिटरिङ सिस्टम (टीपीएमएस) तथा बायाँ ह्यान्डलबारबाट सञ्चालन गर्न मिल्ने मल्टि-फङ्सन कन्ट्रोल उपलब्ध छन् ।

चार्जिङका लागि अगाडिको ग्लोभ बक्स र अन्डरसिट स्टोरेजमा गरी दुईवटा यूएसबी टाइप-सी पोर्ट दिइएको छ। स्कुटरको अन्डरसिटमा २५ लिटरको स्टोरेज स्पेस रहेको छ भने ८ लिटर क्षमताको फ्युल ट्याङ्कले लामो दूरीको यात्रा सहज बनाउने कम्पनीको दाबी छ ।

यसका साथै, बर्गम्यान १५ मा किलेस स्टार्ट सिस्टम पनि समावेश गरिएको छ । स्मार्ट की नजिक हुँदा इग्निसन डायल घुमाएर स्कुटर स्टार्ट गर्न सकिने सुविधा यसमा रहेको छ ।

सुजुकीले नयाँ बर्गम्यान १५ को फिलिपिन्समा मूल्य १ लाख ६५ हजार फिलिपिनो पेसो निर्धारण गरेको छ । 

footer