भारतीय सडकमा इलेक्ट्रिक दुईपाङ्ग्रेको 'क्रेज': एकै महिनामा बिके झन्डै २ लाख स्कुटर र मोटरसाइकल
काठमाडौँ, छिमेकी मुलुक भारतमा इलेक्ट्रिक दुईपाङ्ग्रे सवारी साधनको लोकप्रियताले आकाश छोएको छ । पेट्रोलियम पदार्थको लगातार बढ्दो मूल्य र परम्परागत इन्धनका नयाँ विकल्प (इ२०) सम्बन्धी विवादका बीच उपभोक्ताहरू तीव्र रूपमा ब्याट्रीबाट चल्ने स्कुटर र मोटरसाइकलतर्फ आकर्षित हुन थालेका छन् । सन् २०२६ को जुन महिनामा मात्रै भारतीय बजारमा १ लाख ९३ हजारभन्दा बढी इलेक्ट्रिक दुईपाङ्ग्रे सवारी साधन बिक्री भएका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा ७५ प्रतिशतको लोभलाग्दो वृद्धि हो । चालु वर्षको पहिलो ६ महिनामा मात्रै ९ लाख ७० हजारभन्दा बढी विद्युतीय दुईपाङ्ग्रे गुडिसकेका छन्, जसले नेपालको अटोमोबाइल क्षेत्रलाई समेत नयाँ नीति बनाउन सोच्न बाध्य पारेको छ ।
विद्युतीय फाँटमा यो महिना पनि 'टिभीएस मोटर कम्पनी' सबैभन्दा अगाडि देखिएको छ । जुन महिनामा मात्रै ४६,९९९ थान गाडी बेचेर २४ प्रतिशत बजार हिस्सासहित टिभीएसले आफ्नो साम्राज्य कायमै राखेको छ । उसलाई कडा टक्कर दिँदै 'बजाज अटो' ४३,२३४ थानको बिक्रीसहित दोस्रो स्थानमा उभिएको छ । बजाजको यो वृद्धि गत वर्षभन्दा ८० प्रतिशतले बढी हो । त्यस्तै, नेपाली युवामाझ पनि निकै चर्चामा रहने गरेको प्रिमियम ब्रान्ड 'एथर एनर्जी' ३१,१८८ थान स्कुटर बेचेर तेस्रो स्थान सुरक्षित गर्न सफल भएको छ ।
यस पटकको सबैभन्दा ठुलो छलाङ हिरो मोटोकर्पको 'विडा' ले मारेको छ । गत वर्ष जम्मा ७,९२० थान मात्रै बिकेको विडा यसपालि १७५ प्रतिशतले बढेर २१,७९२ थान बिक्री भएको छ । कुनै समय बजारमा एकछत्र राज गर्ने 'ओला इलेक्ट्रिक' भने खुम्चिँदै १६,१४४ थानका साथ पाँचौँ स्थानमा पुगेको छ । अनौठो डिजाइनका कारण चर्चामा रहेको 'रिभर मोबिलिटी' ले पनि २१४ प्रतिशतको ऐतिहासिक वृद्धि हासिल गरेको छ ।
भारतमा आएको यो इलेक्ट्रिक क्रान्ति केवल त्यहाँको मात्र कथा होइन । नेपाली उपभोक्ताको रोजाइ र बजार पनि भारतीय बजारकै प्रविधि र ब्रान्डमा निर्भर छ । नेपालमा पनि इन्धनको मूल्य घटबढ भइरहने हुँदा र क्लिन इनर्जी को बहस चलिरहँदा, भारतको यो उछालले भोलि नेपालमा पनि एम्पियर, एथर, बजाज चेतक र टिभीएस आईक्युब जस्ता मोडलको माग अझै उच्च बनाउने निश्चित छ ।"
यो तीव्र वृद्धिको मुख्य कारण भारतमा लागू गरिएको इ२० इन्धन (२० प्रतिशत इथानोल मिसावट भएको पेट्रोल) सम्बन्धी अन्योल र उपभोक्तामा इन्जिन बिग्रने डर नै हो । सँगै, ब्याट्री प्रविधिमा आएको सुधार र चार्जिङ स्टेसनहरूको बिस्तारले ग्राहकको आत्मविश्वास बढाएको छ ।
यसको सिधा प्रभाव नेपाली बजारमा पनि देखिनेछ । नेपालले जलविद्युत उत्पादन बढाउँदै लगेको अवस्थामा भारतीय बजारमा उत्पादित यी गुणस्तरीय र प्रतिस्पर्धी इलेक्ट्रिक स्कुटरहरू नेपाली सडकका लागि पनि सस्तो र भरपर्दो विकल्प बन्न सक्छन् । छिमेकमा बढ्दो प्रतिस्पर्धाले गर्दा आगामी दिनमा ब्याट्रीको मूल्य घट्ने र प्रविधि अझै परिष्कृत हुने हुँदा नेपालमा समेत विद्युतीय क्रान्तिले नयाँ उचाइ लिने अनुमान गर्न सकिन्छ ।