Newad1
Featured blog image

वाकाथनसँगै सुरु भयो नाडाको स्वर्ण उत्सव, पूर्व अध्यक्षहरू सम्मानित

काठमाडौं–नेपालका अटोमोबाइल व्यवसायीहरूको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा आयोजित स्वर्ण उत्सव शनिबार काठमाडौंमा विशेष वाकाथनसँगै भव्य रूपमा सुरु भएको छ ।

स्वर्ण उत्सवको उद्घाटनका क्रममा बिहान त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट दरबारमार्गस्थित होटल याक एण्ड यतिसम्म विशेष वाकाथन आयोजना गरिएको थियो । वाकाथनमा नाडाका केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य, पूर्व अध्यक्षहरू, सदस्य कम्पनीका प्रतिनिधि, अटोमोबाइल व्यवसायी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

वाकाथनपछि होटल याक एण्ड यतिमा आयोजित विशेष समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा नाडाका पूर्व अध्यक्ष अन्जन श्रेष्ठको प्रमुख आतिथ्यतामा र नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको सभापतित्वमा स्वर्ण उत्सवको औपचारिक उद्घाटन सम्पन्न भयो। समारोहमा नाडाको ५० वर्षे यात्रा, नेपालको अटोमोबाइल क्षेत्रको विकासमा संस्थाले खेलेको भूमिका तथा आगामी योजनाबारे जानकारी गराइएको थियो । यस अवसरमा संस्थाको नेतृत्व गर्दै विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएका पूर्व अध्यक्षहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो । 

वि.सं. २०३२ सालमा स्वर्गीय तोलाराम दुगडले काठमाडौंमा स्थापना गरेको नाडाले पाँच दशकको यात्रामा नेपालको अटोमोबाइल क्षेत्रलाई संस्थागत रूपमा संगठित गर्दै नीति निर्माण, व्यावसायिक विकास तथा सरकार र निजी क्षेत्रबीच समन्वयकारी भूमिका निर्वाह गर्दै आएको छ ।

५० वर्षको अवधिमा नाडाले २३ वटा अधिवेशन सम्पन्न गरिसकेको छ भने हालसम्म २१ जना अध्यक्षहरूले संस्थाको नेतृत्व सम्हालिसकेका छन् । वार्षिक प्रकाशनका रूपमा नाडा अटोमोबाइल ट्रेड डाइरेक्ट्रीको ३६औँ संस्करण, नाडा अटो न्युजको ५१औँ संस्करण तथा नाडा अटो ड्राइभ क्यालेन्डरको १८औँ संस्करण प्रकाशित भइसकेको छ । साथै, आगामी भदौमा १८औँ संस्करणको नाडा अटो शो आयोजना गर्ने तयारी पनि अन्तिम चरणमा पुगेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतका वस्तुगत संघहरूमध्ये पटक–पटक उत्कृष्ट वस्तुगत एसोसिएसनको सम्मान पाउँदै आएको नाडा सन् २०१५ देखि आईएसओ ९००१:२०१५ क्यूएमएस सर्टिफाइड अर्गनाइजेसनका रूपमा समेत स्थापित छ। संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत देशभर विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै राष्ट्रिय विपद्का समयमा पनि सहयोगी भूमिका निर्वाह गर्दै आएको छ ।

नाडाका अनुसार स्वर्ण उत्सव असार १३ गतेदेखि १९ गतेसम्म काठमाडौंसहित सातै प्रदेशमा सामाजिक, व्यावसायिक, अन्तरक्रियात्मक तथा जनचेतनामूलक कार्यक्रमहरूमार्फत सप्ताहव्यापी रूपमा मनाइनेछ । यस उत्सवले नेपालको अटोमोबाइल क्षेत्रको विकास, व्यवसायीबीचको सहकार्य र संस्थागत एकतालाई थप मजबुत बनाउने नाडाले विश्वास व्यक्त गरेको छ ।

उद्घाटन समारोहको संयोजन तथा धन्यवाद ज्ञापन नाडाका उपाध्यक्ष विक्रम सिंघानियाले गरेका थिए भने कार्यक्रम सञ्चालनको जिम्मेवारी महासचिव मिलनबाबु मल्लले सम्हालेका थिए ।





footer