टोयोटाको नयाँ दाउ: हाइब्रिड ब्याट्री सस्तो र शक्तिशाली बनाउने
काठमाडौं । गाडी बजारमा शुद्ध विद्युतीय मोडलको चर्चा बढिरहेका बेला एउटा पुरानो तर भरपर्दो प्रविधिले फेरि निर्माताहरूको ध्यान तान्न थालेको छ । इन्धन बचत, सहज प्रयोग र चार्जिङ पूर्वाधारमा निर्भर नहुनुपर्ने सुविधाका कारण हाइब्रिड गाडीको माग बढ्दै जाँदा विश्वको ठूलो सवारी निर्माता कम्पनीले यस क्षेत्रमा नयाँ तयारी थालेको हो ।
जापानी सवारी निर्माता टोयोटाले आगामी वर्षदेखि नयाँ पुस्ताको हाइब्रिड ब्याट्री बजारमा ल्याउने जनाएको छ । कम्पनीका अनुसार नयाँ ब्याट्रीले हाल प्रयोगमा रहेका प्रणालीको तुलनामा कम लागतमा राम्रो कार्यसम्पादन दिनेछ ।
यसका लागि टोयोटाले जापानमा रहेका आफ्ना विद्यमान ब्याट्री उत्पादन लाइनलाई रूपान्तरण गर्ने तयारी गरेको छ । ती लाइनबाट करिब ६ लाख गाडीका लागि आवश्यक ब्याट्री उत्पादन गर्न सकिने कम्पनीको भनाइ छ ।
टोयोटाले सन् २०२७ र २०२८ मा ब्याट्री उत्पादन क्षमता थप विस्तार गर्ने योजना पनि सार्वजनिक गरेको छ । बढ्दो ग्राहक मागलाई समेट्न उत्पादन पूर्वाधार बलियो बनाउनुपर्ने आवश्यकता देखिएको कम्पनीको निष्कर्ष छ ।
कम्पनीले नयाँ हाइब्रिड ब्याट्रीको रासायनिक संरचनाबारे भने खुलाएको छैन । टोयोटाले विगतमा हाइब्रिड गाडीमा निकेल–मेटल हाइड्राइड ब्याट्रीको व्यापक प्रयोग गर्दै आएको थियो । यसको दीर्घकालीन विश्वसनीयता बलियो मानिए पनि पछिल्ला मोडलमा लिथियम–आयन ब्याट्रीको प्रयोग बढ्दै गएको छ ।
यो परिवर्तनको मुख्य कारण बजारमा हाइब्रिड गाडीको तीव्र माग हो । टोयोटा र लेक्सस ब्रान्डसहित कम्पनीले सन् २०२६ मा विश्वभर ५० लाखभन्दा बढी हाइब्रिड गाडी बिक्री गर्ने अनुमान गरेको छ । यो कम्पनीका लागि पहिलोपटक यस्तो स्तरमा पुग्ने अवसर हुनेछ ।
यस वर्षको पहिलो छ महिनामा टोयोटाले करिब २३ लाख हाइब्रिड गाडी बिक्री गरेको थियो । यो संख्या कम्पनीको कुल विद्युतीकृत सवारी बिक्रीको करिब ८६ प्रतिशत हो । सोही अवधिमा हाइब्रिड, प्लग–इन हाइब्रिड, ब्याट्रीबाट चल्ने र हाइड्रोजन इन्धन प्रणालीका गाडीको संयुक्त बिक्री २७ लाख पुगेको छ ।
टोयोटाको ब्याट्रीबाट चल्ने गाडी बिक्री पनि बढ्दो क्रममा छ । पहिलो छ महिनामा कम्पनीले एक लाख ९३ हजार शुद्ध विद्युतीय गाडी बिक्री गरेको जनाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३५ प्रतिशत बढी हो ।
कम्पनीले सन् २०२७ बाट लामो दूरी दिने नयाँ लिथियम–आयन ब्याट्री प्रयोग गर्ने लक्ष्य राखेको छ । दाबीअनुसार उक्त ब्याट्रीले एकपटकको चार्जमा एक हजार किलोमिटरसम्म दूरी दिन सक्छ । त्यसपछि सन् २०२७ देखि २०२८ बीच ठोस–अवस्था ब्याट्री ल्याउने तयारी पनि भइरहेको छ, जसमा १० देखि ८० प्रतिशत चार्ज हुन १० मिनेटभन्दा कम समय लाग्ने अपेक्षा गरिएको छ ।
नेपालजस्तो बजारका लागि हाइब्रिड गाडीको यो विस्तार चासोको विषय बन्न सक्छ । यहाँ शुद्ध विद्युतीय गाडीको लोकप्रियता तीव्र रूपमा बढे पनि लामो दूरी यात्रा, चार्जिङको उपलब्धता र प्रयोगको सहजताका कारण हाइब्रिडप्रति पनि ग्राहकको रुचि कायम छ । नयाँ ब्याट्री सस्तो र प्रभावकारी बनेमा भविष्यमा हाइब्रिड गाडीको मूल्य तथा इन्धन बचतमा सकारात्मक प्रभाव देखिन सक्छ ।
चीनका नयाँ प्रविधियुक्त विद्युतीय गाडीको प्रतिस्पर्धा तीव्र बन्दै जाँदा टोयोटाले एकातिर शुद्ध विद्युतीय गाडीको क्षमता बढाउने र अर्कोतिर हाइब्रिड बजारमा आफ्नो पकड अझ बलियो बनाउने रणनीति लिएको देखिन्छ ।