Newad1
Featured blog image

टोयोटाले हाइराइडरको ब्याट्री क्षमता घटायो, माइलेजमा असर नपर्ने दाबी

काठमाडौं । भारतमा बिक्री भइरहेको टोयोटा हाइराइडर स्ट्रङ हाइब्रिड मा कम्पनीले शान्त रूपमा एउटा महत्वपूर्ण प्राविधिक परिवर्तन गरेको खुलेको छ । टोयोटाले सन् २०२५ अप्रिलदेखि उत्पादन भएका मोडलहरूमा प्रयोग हुने ब्याट्रीको क्षमता घटाएको भए पनि यसबारे औपचारिक रूपमा खासै चर्चा गरेको थिएन । अहिले बजारमा उपलब्ध नयाँ मोडलहरूमा यो परिवर्तन लागू भइसकेको छ ।

यसअघि हाइराइडर स्ट्रङ हाइब्रिडमा ०.७६ किलोवाट-घण्टा (kWh) क्षमताको ब्याट्री प्याक प्रयोग हुँदै आएको थियो । तर अहिले कम्पनीले यसको क्षमता घटाएर ०.६० किलोवाट-घण्टा मा झारेको छ । ब्याट्रीको आकार सानो बनाए पनि गाडीको इन्धन दक्षता, समग्र प्रदर्शन वा दैनिक प्रयोगमा कुनै नकारात्मक असर नपर्ने दाबी टोयोटाले गरेको छ ।

हाइराइडरको स्ट्रङ हाइब्रिड प्रणालीमा रहेको ब्याट्री मुख्य रूपमा ब्रेकिङका क्रममा ऊर्जा पुनःसञ्चय (Regenerative Braking) गर्न र आवश्यक पर्दा केही समयका लागि शुद्ध विद्युतीय मोड (Pure EV Mode) मा गाडी चलाउन प्रयोग हुन्छ । अब ब्याट्रीको क्षमता घटेपछि गाडी पूर्ण रूपमा विद्युतीय मोडमा चल्ने समय भने पहिलेको तुलनामा अझ छोटो हुने अनुमान गरिएको छ । यसको अर्थ पेट्रोल इन्जिन पहिलेभन्दा छिट्टै सक्रिय हुनेछ ।

यद्यपि कम्पनीले आधिकारिक माइलेजमा कुनै परिवर्तन नगरेको जनाएको छ । हाइराइडर स्ट्रङ हाइब्रिडको एआरएआई प्रमाणित इन्धन दक्षता अझै २७.९७ किलोमिटर प्रतिलिटर कायम रहेको छ, जुन आफ्नो सेग्मेन्टकै उत्कृष्टमध्ये एक मानिन्छ ।

हाल हाइराइडर स्ट्रङ हाइब्रिडको मूल्य भारतमा १७.१८ लाख भारतीय रुपैयाँदेखि सुरु भएर टप भेरियन्टको १९.९९ लाख भारतीय रुपैयाँसम्म पुग्छ । यसमा १.५ लिटर क्षमताको तीन सिलिन्डर एटकिन्सन साइकल  पेट्रोल इन्जिन प्रयोग गरिएको छ, जसले ९२ बीएचपी (bhp) शक्ति र १२२ एनएम (Nm) टर्क उत्पादन गर्छ । यससँग ८० बीएचपी क्षमताको विद्युतीय मोटर जोडिएको छ, जसले १४१ एनएम टर्क प्रदान गर्छ ।

यसअघि जुलाई १ देखि टोयोटाले भारतमा आफ्ना अधिकांश मोडलको मूल्य वृद्धि गरेको थियो । हाइराइडरको पनि विभिन्न भेरियन्टमा ३२ हजार भारतीय रुपैयाँसम्म मूल्य बढाइएको भए पनि टप-स्पेक भी स्ट्रङ हाइब्रिड भेरियन्टको मूल्य भने यथावत् राखिएको छ ।

footer