Newad1
Featured blog image

सेवा विस्तारमा टोयोटाको अर्को कदम, नारायणगढमा आधिकारिक थ्रीएस शोरुम सञ्चालन

काठमाडौं । नेपालमा टोयोटा ब्रान्डको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटिएस) प्रालिले देशव्यापी सेवा सञ्जाल विस्तार गर्ने रणनीतिअन्तर्गत चितवनमा नयाँ थ्रीएस (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) सुविधा सञ्चालनमा ल्याएको छ । कम्पनीले अटोवेज पोखरा प्रालिलाई आधिकारिक डिलरको जिम्मेवारी दिँदै नारायणगढमा आधुनिक सुविधा सम्पन्न केन्द्र सञ्चालनमा ल्याएको हो ।


नयाँ केन्द्रमार्फत ग्राहकले टोयोटाका नयाँ गाडी खरिद गर्नेदेखि नियमित मर्मत, प्राविधिक जाँच तथा जेन्युइन स्पेयर पार्ट्सको सेवा एउटै स्थानबाट प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार यस विस्तारले चितवनसँगै नवलपुर, मकवानपुर र आसपासका जिल्लाका ग्राहकलाई अझ सहज, छिटो र विश्वसनीय सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

उद्घाटन कार्यक्रममा अटोवेज पोखरा प्रालिका अध्यक्ष नारायणप्रसाद पौडेलले कम्पनीको सफलताको आधार ग्राहकको विश्वास भएको बताए । सन् २०११ देखि भरतपुरमा सेवा दिँदै आएको अटोवेजले ग्राहकसँग दीर्घकालीन सम्बन्ध निर्माण गर्दै आएको उल्लेख गर्दै उनले नयाँ थ्रीएस केन्द्रले अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सेवा अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरे ।

उनका अनुसार अत्याधुनिक उपकरण, दक्ष प्राविधिक जनशक्ति र गुणस्तरीय बिक्रीपछिको सेवामार्फत ग्राहक सन्तुष्टिलाई अझ उच्च स्तरमा पुर्‍याउने लक्ष्य राखिएको छ । साथै, चितवनको बढ्दो आर्थिक गतिविधि र सवारी साधनको मागलाई मध्यनजर गर्दै गरिएको यो लगानीले स्थानीय ग्राहकलाई प्रत्यक्ष लाभ पुग्ने उनको भनाइ थियो ।


कार्यक्रममा वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज (भोइथ) का अध्यक्ष सुरज वैद्यले टोयोटाले सेवा विस्तारलाई निरन्तर प्राथमिकतामा राख्दै आएको बताए । उनका अनुसार विश्वभर टोयोटाले गुणस्तर, सुरक्षा, टिकाउपन र ग्राहकप्रतिको विश्वासका आधारमा आफ्नो पहिचान बनाएको छ, र चितवनमा सुरु भएको नयाँ सुविधा पनि त्यही प्रतिबद्धताको निरन्तरता हो ।

वैद्यले राजधानीसम्म पुग्नुपर्ने बाध्यता कम गर्दै अब चितवनकै ग्राहकले अन्तर्राष्ट्रियस्तरको बिक्री तथा बिक्रीपछिको सेवा आफ्नै क्षेत्रमा पाउने उल्लेख गरे । यसले सेवा पहुँच मात्र विस्तार नगरी ग्राहकको समय, लागत र झन्झटसमेत घटाउने उनको भनाइ थियो ।

उद्योग, व्यापार, पर्यटन, कृषि तथा यातायात गतिविधि तीव्र रूपमा विस्तार भइरहेको चितवन पछिल्ला वर्षहरूमा देशकै प्रमुख आर्थिक केन्द्रमध्ये एकका रूपमा विकसित हुँदै गएको छ । यही सम्भावनालाई लक्षित गर्दै सञ्चालनमा आएको टोयोटाको नयाँ थ्रीएस केन्द्रले स्थानीय अटोमोबाइल बजारलाई थप सक्रिय बनाउनुका साथै ग्राहकलाई गुणस्तरीय स्वामित्व अनुभव प्रदान गर्ने कम्पनीको अपेक्षा छ ।


footer