Newad1
Featured blog image

ट्राफिक नियम उल्लंघन महँगो बन्दै, जरिवाना १ लाख रुपैयाँसम्म पुर्‍याउने प्रस्ताव

काठमाडौं । अब ट्राफिक नियम उल्लंघन गर्नु पहिलेभन्दा निकै महँगो पर्ने देखिएको छ । सरकारले सडक अनुशासन कायम गर्न, दुर्घटना न्यूनीकरण गर्न र जिम्मेवार सवारी संस्कृतिको विकास गर्न ट्राफिक सम्बन्धी विभिन्न कसुरमा जरिवाना उल्लेख्य रूपमा बढाउने प्रस्ताव अघि सारेको छ । प्रस्तावित व्यवस्थाअनुसार केही गम्भीर कसुरमा जरिवाना हालको भन्दा कैयौं गुणा बढ्नेछ भने केही नयाँ कसुरलाई समेत स्पष्ट रूपमा कानुनी दायरामा ल्याइएको छ ।

प्रस्तावित व्यवस्थाले विशेषगरी मापसे गरेर सवारी चलाउने, मोबाइल फोन प्रयोग गर्दै गाडी चलाउने, हेल्मेट नलगाई मोटरसाइकल चलाउने, लेन अनुशासन उल्लंघन गर्ने तथा तोकिएको गतिभन्दा बढी वा कम गतिमा सवारी चलाउने चालकलाई कडा कारबाहीको दायरामा ल्याउने लक्ष्य राखेको देखिन्छ ।

कुन कसुरमा कति जरिवाना प्रस्ताव ? 

मापसे र ओभरस्पिडिङमा ५० हजार रुपैयाँसम्म

मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने तथा तोकिएको सीमाभन्दा बढी गतिमा सवारी चलाउने चालकलाई २५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने प्रस्ताव गरिएको छ। हाल यस्ता कसुरमा ५०० देखि १,५०० रुपैयाँसम्म मात्रै जरिवाना लाग्ने व्यवस्था छ ।

मोबाइल चलाउँदै गाडी चलाए १० हजार जरिवाना

लेन मिच्ने, वान वे छिर्ने वा मोबाइल फोन प्रयोग गर्दै सवारी चलाउनेलाई १० हजार रुपैयाँसम्म जरिवाना गर्ने प्रस्ताव गरिएको छ । हाल यस्ता कसुरमा ५०० देखि १,५०० रुपैयाँसम्म जरिवाना लाग्दै आएको छ ।

हेल्मेट नलगाए ३ हजार

हेल्मेट नलगाई मोटरसाइकल वा स्कुटर चलाउनेलाई ३ हजार रुपैयाँ जरिवाना गर्ने प्रस्ताव गरिएको छ । अहिले ५०० देखि १,५०० रुपैयाँसम्म जरिवाना लाग्ने व्यवस्था छ ।

लाइसेन्स बिना सवारी चलाए ५ हजारसम्म

ड्राइभिङ लाइसेन्स नलिई सवारी चलाउने तथा दर्ता भएको प्रयोजनभन्दा फरक प्रयोजनका लागि सवारी प्रयोग गर्ने व्यक्तिलाई ५ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना गर्ने प्रस्ताव गरिएको छ । हाल यस्तो कसुरमा २ हजार रुपैयाँसम्म जरिवाना लाग्छ ।

सिसामा कालो फिल्म वा दृश्य अवरोध गरे १ लाखसम्म

सवारीको अगाडिको सिसा वा अन्य भागमा बाहिरबाट भित्र नदेखिने गरी कालो फिल्म, पर्दा वा अन्य सामग्री प्रयोग गरेमा १ लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रस्ताव गरिएको छ । यो प्रस्तावित सूचीमा सबैभन्दा ठूलो जरिवाना मध्ये एक हो ।

सडक अवरोध गरे २५ हजारसम्म

सडकमा निर्माण सामग्री, मालसामान, पशुचौपाया वा अन्य वस्तु राखेर आवागमनमा बाधा पुर्‍याए ५ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना लाग्ने प्रस्ताव गरिएको छ। हाल यस्तो कसुरमा ५ हजार रुपैयाँसम्म जरिवाना लाग्ने व्यवस्था छ ।

पैदल यात्रु पनि कारबाहीको दायरामा

जेब्राक्रसिङ बाहेक अन्य स्थानबाट सडक पार गर्ने पैदल यात्रुलाई ५०० रुपैयाँ जरिवाना गर्ने प्रस्ताव गरिएको छ ।

अन्य प्रस्तावित जरिवाना

अनुमति नलिई विदेशी सवारी नेपालमा चलाए : २५ हजार रुपैयाँसम्म

असुरक्षित स्थानमा ओभरटेक गरे : २ हजार रुपैयाँ

सवारीबाट सडकमा फोहोर फाले : १ हजार रुपैयाँ

ट्याक्सीले मिटरमा जान नमाने : ३ हजार रुपैयाँ

दुईपाङ्ग्रे सवारीले अनलाइन सेवा दिए : २ हजार रुपैयाँ

सडक अनुशासन सुधार्ने कि आर्थिक भार बढाउने?

प्रस्तावित जरिवानाले ट्राफिक नियम उल्लंघन नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । तर अर्कोतर्फ सामान्य नागरिकमाथि आर्थिक भार बढ्न सक्ने भन्दै यस विषयमा बहस पनि सुरु भएको छ । यद्यपि सडक दुर्घटना र ट्राफिक अव्यवस्थालाई नियन्त्रण गर्न कडा कानुनी व्यवस्था आवश्यक रहेको तर्क पनि उत्तिकै बलियो रूपमा उठिरहेको छ ।

अब यो प्रस्ताव कानुनी प्रक्रियाबाट पारित भएमा नेपालमा ट्राफिक नियम उल्लंघन गर्नेहरूका लागि सानो गल्ती पनि निकै महँगो साबित हुन सक्नेछ ।



footer