वार्षिक ५ लाख ईभी बनाउने लक्ष्यसहित अल्ट्राभायोलेटको नयाँ तयारी
काठमाडौं । प्रिमियम विद्युतीय मोटरसाइकलबाट पहिचान बनाएको एउटा भारतीय स्टार्टअप अब सीमित उत्पादन र महँगो मूल्यको घेरा तोडेर ठूलो बजारमा उत्रिने तयारीमा छ । आगामी स्कुटर र मोटरसाइकलले अपेक्षाभन्दा बलियो माग तान्ने संकेत पाएपछि कम्पनीले आफ्नो उत्पादन क्षमता नै नयाँ उचाइमा पुर्याउने योजना अघि सारेको हो ।
अल्ट्राभायोलेट अटोमोटिभले तमिलनाडुको
होसुरमा नयाँ ईभी उत्पादन प्लान्ट बनाउन पाँच वर्षभित्र ७ अर्ब ७९ करोड भारु
अर्थात् करिब ८ करोड २० लाख अमेरिकी डलर लगानी गर्ने जनाएको छ । प्लान्टको
प्रारम्भिक वार्षिक क्षमता २ लाख ५० हजार युनिट हुनेछ, जसलाई बजारको मागअनुसार ५
लाख युनिटसम्म विस्तार गर्न सकिनेछ ।
कम्पनीको बेंगलुरुनजिक रहेको हालको
प्लान्टले वर्षमा अधिकतम ५० हजार युनिट उत्पादन गर्न सक्छ । नयाँ प्लान्ट पूर्ण
क्षमतामा सञ्चालन हुँदा अल्ट्राभायोलेटको उत्पादन क्षमता अहिलेको तुलनामा १०
गुणासम्म बढ्नेछ । कम्पनीले आन्तरिक सञ्चिति, सेयर लगानी र भविष्यको नगद प्रवाहबाट
रकम जुटाउने तथा ऋणको प्रयोग सीमित राख्ने योजना बनाएको छ ।
यो विस्तार आगामी टेसेर्याक्ट
इलेक्ट्रिक स्कुटर र शकवेभ इलेक्ट्रिक मोटरसाइकलसँग प्रत्यक्ष जोडिएको छ ।
अल्ट्राभायोलेटले टेसेर्याक्टको मूल्य डेढ लाख भारुभन्दा कम र शकवेभको मूल्य २ लाख
भारुभन्दा कम राख्ने योजना बनाएको छ । कम्पनीका सहसंस्थापक तथा प्रमुख कार्यकारी
अधिकृत नारायण सुब्रमण्यमका अनुसार स्कुटरबाट मात्रै भारतीय बजारमा मासिक कम्तीमा
१० हजार युनिट माग आउन सक्ने अनुमान छ ।
रोयटर्सका अनुसार क्वालकम र टीभीएस मोटरको लगानी रहेको कम्पनीले सन् २०२६ को पहिलो छ महिनामा विश्वभर ३ हजारभन्दा बढी विद्युतीय मोटरसाइकल बिक्री गरेको थियो । अहिले कुल बिक्रीको करिब १५ प्रतिशत हिस्सा युरोप र ल्याटिन अमेरिकी निर्यातबाट आउने गरेकोमा आगामी पाँच वर्षभित्र त्यसलाई २५ प्रतिशत पुर्याउने लक्ष्य छ । अनुसन्धान तथा विकास केन्द्र र अटोमोबाइल सप्लाई चेन नजिक भएकाले नयाँ प्लान्टका लागि होसुर रोजिएको कम्पनीको भनाइ छ ।