Newad1
Featured blog image

५ किलोवाट मोटरसहित आयो भेट्रा एरोन, मूल्य ३ लाख ८० हजार

काठमाडौं । ‘भेट्रा राइड सेयरिङ’मा आबद्ध हुने राइडरलाई शून्य डाउनपेमेन्टमा आफ्नै स्कुटरको मालिक बनाउने योजनासहित भेट्रा एरोन इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक गरिएको छ । तपाईंको बजार र भेट्रा मोटर्सको सहकार्यमा ल्याइएको स्कुटरको मूल्य ३ लाख ८० हजार रुपैयाँ तोकिएको छ ।

कम्पनीले भेट्रा राइड सेयरिङमार्फत ५ हजार जनालाई स्वरोजगारमा जोड्ने लक्ष्य राखेको जनाएको छ । योजनाअन्तर्गत राइडरले सुरुमा डाउनपेमेन्ट नगरी स्कुटर लिन र दैनिक आम्दानीबाट किस्ता तिर्दै यसको स्वामित्व हासिल गर्न सक्नेछन् । वित्तीय सुविधाका लागि तपाईंको बजारले बेस्ट फाइनान्ससँग सहकार्य गरेको छ ।

भेट्रा एरोनमा ५ किलोवाटको मोटर, १२० एम्पियर आवर क्षमताको एलएफपी ब्याट्री र १६५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको कम्पनीले जनाएको छ । पूर्ण चार्जमा २५० किलोमिटरभन्दा बढी रेन्ज दिने कम्पनीको दाबी छ । स्कुटरलाई विशेषगरी भेट्रा राइड सेयरिङमा व्यावसायिक रूपमा सञ्चालन गर्ने राइडरको दैनिक यात्रालाई ध्यानमा राखेर तयार गरिएको बताइएको छ ।

तपाईंको बजारकी प्रमुख कार्यकारी अधिकृत माया लामाका अनुसार यो योजना दुई वर्षअघि तयार गरिए पनि विभिन्न कारणले कार्यान्वयन हुन सकेको थिएन । अहिले बेस्ट फाइनान्स र याङ्गोसँगको सहकार्यमा योजना अघि बढाइएको हो । कम्पनीले इलेक्ट्रिक स्कुटरमा आधारित छुट्टै राइडिङ इकोसिस्टम विकास गर्ने लक्ष्यसमेत राखेको छ ।

स्कुटर तथा वित्तीय सुविधा तपाईंको बजारका पानीपोखरी, बुटवल र बिर्तामोडस्थित शोरुमबाट लिन सकिनेछ । योजनामा सहभागी हुन राइडरले राष्ट्रिय परिचयपत्र, प्यान कार्ड, सवारीचालक अनुमतिपत्र र फोटो बुझाउनुपर्ने कम्पनीले जनाएको छ । भेट्रा मोटर्सले नेपालभर अधिकृत डिलर नियुक्तिका लागि आवेदनसमेत खुलाएको छ ।

footer