Newad1
Featured blog image

विश्व ईभी उद्योगको धड्कन: कसले बनाइरहेको छ विश्वका अधिकांश इलेक्ट्रिक गाडीका ब्याट्री ?

विश्व अटोमोबाइल उद्योग इतिहासकै ठूलो रूपान्तरणको चरणमा छ । यस रूपान्तरणको केन्द्रमा छ ब्याट्री । कुनै पनि इलेक्ट्रिक गाडीको ब्याट्री नै त्यसको इन्धन ट्यांकी, इन्जिन र ऊर्जा केन्द्र हो । त्यसैले आज विश्वभरका अटो निर्माताहरू नयाँ गाडी डिजाइन गर्नमा मात्र होइन, दीर्घकालीन ब्याट्री आपूर्ति सुनिश्चित गर्न पनि अर्बौं डलर लगानी गरिरहेका छन् ।

ईभीको कुल लागतको ३० देखि ४० प्रतिशत हिस्सा एक्लो ब्याट्रीले ओगट्छ । यसले गर्दा जसले उत्कृष्ट र सस्तो ब्याट्री बनाउँछ, उसैले समग्र ईभी बजारको दिशा निर्धारण गर्न सक्छ । सन् २०२५ को अनुमानित बजार हिस्साका आधारमा हेर्दा चीन, दक्षिण कोरिया र जापानका कम्पनीहरूले यो क्षेत्रमा लगभग पूर्ण प्रभुत्व कायम गरिसकेका छन् ।

३८% CATL को विश्व बजार हिस्सा
१७% BYD को विश्व बजार हिस्सा
१०% LG एनर्जी सोलुसन
४% Panasonic (जापान)

नम्बर एक: CATL
चीनको CATL (Contemporary Amperex Technology Co. Limited) निर्विवाद रूपमा विश्वको सबैभन्दा ठूलो ईभी ब्याट्री आपूर्तिकर्ता हो । कम्पनीले एक्लैले विश्व बजारको करिब ३८ प्रतिशत ओगटेको अनुमान छ । Tesla, BMW, Mercedes-Benz, Volkswagen र Ford यी सबैका गाडीहरूमा CATL को ब्याट्री चल्छ । उच्च ऊर्जा घनत्व, विश्वसनीयता र प्रतिस्पर्धी मूल्यका कारण CATLआज ईभी उद्योगको मेरुदण्ड बनेको छ ।

कार पनि, ब्याट्री पनि: BYD
दोस्रो स्थानमा रहेको चीनकै BYD को विशेषता अर्कै छ, यसले आफ्नै गाडीका लागि आफैं ब्याट्री उत्पादन गर्छ । कम्पनीको Blade Battery प्रविधिले सुरक्षा, दीर्घायु र लागत नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । करिब १७ प्रतिशत बजार हिस्सासहित BYD पछिल्ला वर्षहरूमा Tesla सँग विश्व ईभी बिक्रीमा कडा प्रतिस्पर्धा गरिरहेको छ ।

दक्षिण कोरियाको बलियो उपस्थिति
विश्व ब्याट्री बजारमा दक्षिण कोरियाका कम्पनीहरूको भूमिका पनि उल्लेखनीय छ । LG एनर्जी सोलुसन करिब १० प्रतिशत बजार हिस्सासहित तेस्रो स्थानमा छ । General Motors, Tesla, Hyundai र Kia लगायतका ब्रान्डहरू यसका प्रमुख ग्राहक हुन् । त्यस्तै SK On ले Ford, Hyundai र Volkswagen का विभिन्न मोडलमा ब्याट्री आपूर्ति गर्दै करिब ५ प्रतिशत हिस्सा ओगटेको छ । Samsung SDI पनि BMW र युरोपेली ब्रान्डहरूको महत्वपूर्ण साझेदारका रूपमा शीर्ष सूचीमा छ ।

चीनको बढ्दो दबदबा र जापानको प्रतिस्पर्धा
CATL र BYD बाहेक CALB, Gotion High-Tech, EVE Energy र Sunwoda जस्ता चिनियाँ कम्पनीहरूले पनि विश्व बजारमा आफ्नो उपस्थिति तीव्र रूपमा विस्तार गरिरहेका छन् । लिथियम, निकेल र कोबाल्ट जस्ता कच्चा पदार्थको आपूर्ति श्रृंखलामा चीनले गरेको ठूलो लगानीले उसलाई समग्र ब्याट्री इकोसिस्टममा रणनीतिक अग्रता दिलाएको छ ।

जापानको Panasonic भने करिब ४ प्रतिशत बजार हिस्सासहित अझै प्रतिस्पर्धामा छ । लामो समयसम्म Tesla को प्रमुख ब्याट्री साझेदार रहेको यस कम्पनीले अहिले Mazda र Subaru सँग सहकार्य जारी राखेको छ । यद्यपि चिनियाँ कम्पनीहरूको तीव्र विस्तारसँगै Panasonic को बजार हिस्सा केही घटेको देखिन्छ ।

सन् २०२५ सम्म आइपुग्दा CATL र BYD ले संयुक्त रूपमा विश्व बजारको आधाभन्दा बढी हिस्सा नियन्त्रण गरिरहेका छन् । द्रुत चार्जिङ, लामो रेन्ज, कम लागत र उच्च सुरक्षाको ब्याट्री विकास गर्ने कम्पनीहरूले नै भविष्यको ईभी बजारमा निर्णायक भूमिका खेल्ने निश्चित छ । भोलिको अटोमोबाइल संसारमा गाडीभन्दा पनि ब्याट्री नै सबैभन्दा महत्वपूर्ण प्रविधि बन्ने दिशामा अघि बढिरहेको छ ।
footer