नौ मिनेटमै ४५० किमि रेन्ज थप्ने एक्सपेङ जी९एल सार्वजनिक, कति शक्तिशाली छ नयाँ एसयूभी ?
काठमाडौं । ठूला विद्युतीय एसयूभीमा अब केवल धेरै सिट वा ठूलो ब्याट्री राख्ने प्रतिस्पर्धा मात्र छैन । चार्जिङमा बित्ने समय घटाउँदै, शक्तिशाली पावरट्रेन र प्रिमियम केबिन एकैसाथ दिने होड पनि तीव्र बन्दै गएको छ ।
यही प्रतिस्पर्धामा चिनियाँ ब्रान्ड
एक्सपेङले नयाँ पाँच सिटे एसयूभी ‘जी९एल’ सार्वजनिक गरेको छ । ग्लोबल मोडलका रूपमा
ल्याइएको यो गाडी छिट्टै चीनमा बिक्रीमा जाने तयारीमा छ ।
कम्पनीले जी९एलको सबैभन्दा आकर्षक
पक्षका रूपमा यसको ८ सय भोल्ट प्लेटफर्मलाई अघि सारेको छ । एक्सपेङको दाबीअनुसार,
उपयुक्त फास्ट चार्जरमा यसले नौ मिनेटमै ४५० किलोमिटरसम्म यात्रा पुग्ने रेन्ज
थप्न सक्छ ।
पाँच
सिटमै किन केन्द्रित ?
जी९एललाई छ सिटे मोडलसँग जुध्न नपरोस्
भनेर एक्सपेङले यसलाई पाँच सिटमै सीमित गरेको जनाएको छ । यसको लम्बाइ ५ हजार १२०
मिलिमिटर, चौडाइ १ हजार ९९९ मिलिमिटर र ह्विलबेस ३ हजार १०० मिलिमिटर छ ।
यो आकार बीएमडब्ल्यू एक्स५ भन्दा करिब
१९८ मिलिमिटर लामो हो । त्यसैले, पाँच जनाको परिवार वा प्रिमियम व्यक्तिगत यात्रा
खोज्ने ग्राहकका लागि पर्याप्त फराकिलो केबिन र ठूलो लगेज स्पेस यसका मुख्य आकर्षण
हुन सक्छन् । कम्पनीले बुट स्पेस १ हजार १५२ लिटर रहेको जनाएको छ ।
५७७
हर्सपावरको अल–ह्विल ड्राइभ
जी९एलमा अगाडि १६० किलोवाट र पछाडि
२७० किलोवाटको विद्युतीय मोटर राखिएको छ । दुवै मोटरको संयुक्त पावर ४३० किलोवाट
अर्थात् ५७७ हर्सपावर पुग्छ ।
अल–ह्विल ड्राइभ पावरट्रेनसहितको यो
एसयूभीको उच्च गति प्रतिघण्टा २०० किलोमिटर रहेको कम्पनीले जनाएको छ । बाहिरी
डिजाइनमा बन्द फ्रन्ट, फ्लस डोर ह्यान्डल, इलेक्ट्रिक सफ्ट–क्लोजिङ डोर, चौडा रियर
फेन्डर र २२ इन्चका ह्विल दिइएका छन् ।
केबिनमा अगाडिका सिटमा पावर
एडजस्टमेन्ट, लम्बर तथा साइड सपोर्ट र यात्रु सिटमा जिरो ग्राभिटी मोड उपलब्ध छ ।
बिल्ट–इन फ्रिज र एआर–हेडअप डिस्प्लेले यसलाई प्रिमियम यात्रातर्फ केन्द्रित मोडल
बनाउने प्रयास देखिन्छ ।
एआईमा
पनि जोड
ड्राइभिङ सहायताका लागि जी९एलमा
कम्पनीको दोस्रो पुस्ताको भिजन–ल्याङ्ग्वेज–एक्सन प्रणाली राखिएको छ । चारवटा एआई
ट्युरिङ चिपले २ हजार २५० टप्स कम्प्युटिङ पावर दिने एक्सपेङको भनाइ छ ।
यसमा नेभिगेट अन अटोपाइलट र सेल्फ
पार्किङजस्ता सुविधा समावेश छन् । यद्यपि, यस्ता एडास सुविधा कुन–कुन बजारमा कस्तो
रूपमा उपलब्ध हुन्छन् भन्ने कुरा स्थानीय नियममा निर्भर रहनेछ ।
चीनमा यसको मूल्य करिब ३ लाख युआनबाट सुरु हुने अनुमान छ । नेपालमा आउनेबारे कुनै आधिकारिक जानकारी छैन । तर, ठूलो ब्याट्री, द्रुत चार्जिङ र प्रिमियम पाँच सिटे लेआउटतर्फ बढ्दो रुचिका बीच जी९एलजस्ता मोडलले नेपाली बजारमा पनि भविष्यको ईभी प्रतिस्पर्धा कता जाँदैछ भन्ने संकेत भने दिएको छ ।