३ लाख २९ हजारको यात्री पी२मा कति ब्याट्री र कति रेन्ज?
काठमाडौं । नेपालमै डिजाइन, इन्जिनियरिङ तथा उत्पादन गरिएको विद्युतीय स्कुटर यात्री पी२को मूल्य सार्वजनिक भएको छ । कम्पनीले तीन फरक ब्याट्री र मोटर क्षमतामा उपलब्ध पी२को मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँदेखि ४ लाख ९९ हजार ९०० रुपैयाँसम्म निर्धारण गरेको हो ।
पी२को ३ किलोवाट आवर ब्याट्री र ६ किलोवाट मोटर भएको प्रवेश भेरियन्टको मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ राखिएको छ । यसले पूर्ण चार्जमा ९० किलोमिटरसम्म सहरी रेन्ज दिने कम्पनीको दाबी छ । ३.७ किलोवाट आवर ब्याट्री, ८ किलोवाट मोटर र ११२ किलोमिटर दाबी गरिएको रेन्ज भएको भेरियन्टको मूल्य भने ३ लाख ९९ हजार ९०० रुपैयाँ तोकिएको छ ।
सबैभन्दा माथिल्लो भेरियन्टमा ५.२ किलोवाट आवरको ब्याट्री र १० किलोवाट पिक पावर दिने मोटर राखिएको छ । ४ लाख ९९ हजार ९०० रुपैयाँ मूल्य तोकिएको यो भेरियन्टले पूर्ण चार्जमा १५७ किलोमिटरसम्म सहरी रेन्ज दिने कम्पनीको दाबी छ । अतिरिक्त ५० किलोमिटर रेन्ज दिने १.८ किलोवाट आवरको रेन्ज एक्सटेन्डरको मूल्य ९० हजार ६०० रुपैयाँ र र्यापिड होम चार्जरको मूल्य २९ हजार रुपैयाँ राखिएको छ । रेन्ज एक्सटेन्डरसहित पी२को दाबी गरिएको अधिकतम रेन्ज २०७ किलोमिटरसम्म पुग्छ ।
यात्री पी२मा मिड–ड्राइभ पीएमएसएम मोटर, १४ इन्चका पाङ्ग्रा, अगाडि र पछाडि डिस्क ब्रेक तथा कम्बाइन्ड ब्रेकिङ सिस्टम उपलब्ध छन् । टप भेरियन्टले पाङ्ग्रामा ३१५ एनएम टर्क दिनुका साथै अधिकतम ९० किलोमिटर प्रतिघण्टाको गति लिन सक्ने कम्पनीले जनाएको छ । स्कुटरमा सात इन्चको टीएफटी डिस्प्ले, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, हिल होल्ड, रिभर्स मोड, क्रुज कन्ट्रोल तथा रिजेनेरेटिभ ब्रेकिङजस्ता सुविधा पनि उपलब्ध छन् ।
कम्पनीका अनुसार पी२लाई डीसी फास्ट चार्जरबाट ४१ मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । ३.७ र ५.२ किलोवाट आवरका भेरियन्टको डेलिभरी अक्टोबर मध्यदेखि सुरु गर्ने तयारी छ भने ३ किलोवाट आवर भेरियन्टका लागि डिसेम्बरसम्म कुर्नुपर्नेछ । कम्पनीले पी२का लागि पहिलो चरणमा १५ गन्तव्यमा ३५ वटा चार्जिङ स्टेसन स्थापना गर्ने योजना सार्वजनिक गरेको छ । यात्रीको आधिकारिक विवरण अनुसार ब्याट्रीको सुरक्षा ग्राहकले रोजेको कन्फिगरेसनअनुसार आठ वर्ष वा ८० हजार किलोमिटरसम्म विस्तार गर्न सकिनेछ ।